अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठकी आमाको निधन

काठमाडौं, भदौ ३१ 

एक वर्ष अघि दिवगंत भएका अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठकी आमा जगतकुमारी श्रेष्ठको निधन भएको छ । बुधबार दिउँसो एक्कासी पेट दुख्ने र सास फेर्न अप्ठ्यारो भएपछि चावहिलस्थित ओम अस्पतालको आइसियुमा भर्ना गरिएकी ८८ वर्षिय श्रेष्ठको बुधबार राती निधन भएको हो ।

श्रीकृष्णसहित ६ छोरा र एक छोरीकी माता श्रेष्ठलाई खासै ठूलो रोग नभएको उनका ज्वाईं तथा ‘कोहिनुर’ फिल्मका निर्माता चन्द्र श्रेष्ठले सेतोपाटीलाई बताए । उनका अनुसार विभिन्न अस्पतालमा पुर्‍याउँदा पनि यही रोग भनेर किटान भएको थिएन तर, उच्च रक्तचाप, मधुमेह, मुटु, फोक्सोमा लगायतमा समस्या भने उनले झेलिरहेकी थिइन्। पुत्रशोकका कारण पनि थलिएकी श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।