नेताले हेरे ‘वडा नम्बर ६’

आश्विन ५, २०७२- नयाँ संविधानको उत्सवमा व्यस्त रहेका सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल सोमबार दिनभरि टुँडिखेलमा थिए। साँझ चाहिँ उनी कुमारी हलमा भेटिए, उनीसँगै माओवादी नेता डा. बाबुराम भट्टराई र हिसिला यमीसमेत फिल्म ‘वडा नम्बर ६’ हेर्न आएका थिए। तीनैजनाले फिल्ममा ‘रमाइलोसँगै राजनीतिक गतिविधिको यथार्थ हेर्ने अवसर पाएको’ टिप्पणी गरे। माओवादी जनयुद्धताका लडाकुले भोग्नुपरेको दु:ख, संघर्ष र यथार्थसमेत फिल्ममा समेटिएको छ। फिल्म हेर्दै कमेडी दृश्यमा बाबुराम मुुसुक्क मुस्कुराइरहेका थिए भने मिनेन्द्रचाहिँ खुलेर हाँस्दै। ‘आज निकै रमाइलो भयो,’ मिनेन्द्रले थपे, ‘तर, राजनीतिक घटनाक्रमको चित्रणले केही गम्भीर पनि बनायो।’ उनले फिल्ममा थुप्रै यथार्थपरक कथावस्तु रहेको बताए। यति गम्भीर विषयलाई रसिलो ढंगले प्रस्तुत गर्न सक्नु फिल्म निर्देशनको खुबी रहेको मिनेन्द्रले दाबी गरे। डा. बाबुरामले चाहिँ फिल्म हेर्दै गर्दा जनयुुद्धको सम्झना आएको सुनाए। जनयुद्धमा लडाकु युवाहरूले निकै संघर्ष गरेको भए पनि अहिले त्यसको सनुवाइ पटक्कै नभएको पनि उनले दाबी गरे। फिल्ममा बेरोजगार भएका लडाकुले क्रान्तिमा होमिएकै कारण समाजले गरेको विभेदको वास्तविकता रहेको बाबुरामले बताए।हिसिलाले दीपाश्री निरौलाको अभिनय निकै मन पराएको बताइन्। उनले देशको सामाजिक, राजनीतिक र तत्कालीन समयको कालखण्ड फिल्ममा समेटिएको भन्दै प्रशंसा पनि गरिन्। दीपाले महिला क्रान्तिकारीको मुख्य भूमिका गरेकीले नारी सशक्तीकरणको मुद्दा पनि ज्वलन्त रूपमा उठाएको बताइन्। चार दिनदेखि प्रदर्शनमा रहेको फिल्म ‘वडा नम्बर ६’ हेर्ने दर्शकको भीड बढेको अभिनेत्री दीपाले दाबी गरिन्।