नाकाबन्दीले भारतीय कलाकारलाई पनि छोडेन

नेपालमा हाल भारतले अघोषित नाकाबन्दी लगाइरहेको छ । नेपालीभन्दा बढी भारतीय फिल्मबाट प्रभावित नेपालीले भारतीय कलाकारले यस विषयमा केही बोलिदेओस् भन्ने अपेक्षा राख्न थालेको सामाजिक सञ्जालबाट देखिन थालेको छ । एकातिर भारतीय फिल्म र सिरियलमाथि प्रतिबन्धका कुरा आइरहँदा एउटा झुठो विचारबाट भारतीय कलाकार अनुपम खेरले  हैरानी व्यहोरेका छन्।

 

अनुपम खेरको भेरीफाईड ट्विटरमा पोष्ट भएको एउटा ट्विटको ‘स्क्रिनसट’ ले एक्कासी सामाजिक सञ्जालमा देखियो। सो पोस्टमा–‘नेपाल त्यो देश हो, जसले भारतलाई संकट पर्दा आफ्ना जनता भारतीय सेनामा पठायो । आज हामी उसैलाई संकटमा पार्दैछौं । साह्रै लज्जास्पद कुरा !’

 

त्यसपछि धेरैले ट्विटरमा अनुपम खेरको ट्विट चेक गरे । त्यहाँ यस्तो ट्विट नपाएपछि किशोर भन्ने एक नेपालीले खेरलाई ‘नेपालमा यो कुरा भाइरल भइरहेको छ । के तपाईंले यस्तो ट्विट गर्नुभएको थियो ?  मलाई लाग्छ यो झुठ हो’ भन्दै मेन्सन गरेपछि खेरले स्पष्टिकरण नै दिनुपर्‍यो। उनले सो झुठ ट्विट सेयर गर्दै भने,‘यो ट्विट मैले लेखेको होइन । कसले लेख्यो ? म अचम्ममा छु ।’