अपडेट: तनावग्रस्त सुनौली नाका सुचारु गर्न सहमति

   

आश्विन १८, २०७२- आन्दोलनकारीले दशगजा सिमानाबाट नेपाली सुरक्षाकर्मीमाथि सोमबार दिउसो ढुंगा बषर्ाएपछि तनावग्रस्त बनेको सुनौली नाकालाई सुचारु बनाउन नेपाली र भारतीय सुरक्षा अधिकारी सहमत भएका छन् ।

रुपन्देहीका एसपी बुद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरीका एसपी गणेश बहादुर संग्रौला, सिमावर्ती भारत महाराजगंज जिल्लाका सहायक जिल्ला अधिकारी बिक्रम सिंह, एसएसबीका कमान्डेन्ट के एस बनकोटी लगायत्का भारतीय सुरक्षा अधिकारी बीच सीमा क्षेत्र सहज बनाएर सुचारु गर्न सहमति भएको हो ।

सिमानाको फाईदा उठाएर आन्दोलनकारीले नेपाललाई असर पर्ने कुनैपनि गतिबीधि गर्न नदिन नेपाली सुरक्षा अधिकारीको आग्रहलाई भारतीय पक्षले सकारात्मक लिदैं त्यसो हुन नदिन सघाउने प्रतिवद्धता व्यक्त गरेको छ । मंगलवारदेखि सिमानामा कसैलाईपनि धर्नामा बस्न नदिने र बस्न थालेमा धपाउने मौखिक सहमति भएको नेपाली अधिकारीले बताएका छन् ।

सिमानामा धर्नामा बसेर आन्दोलन गरेका आन्दोलनकारीले आज दिउसो नेपाली सुरक्षाकर्मीमाथि एक्कासी ढुंगा प्रहार गर्दा नेपालका दुईजना उच्च सुरक्षा अधिकृत सहित दशजना सुरक्षाकर्मी घाईते भएका छन् ।

आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर ५ जना सर्वसाधारण नेपाली घाईते भएका छन् । घटनाको लगत्तै काम बिशेषले सिमावर्ती भारतको सुनौली पुगेका चारजना नेपाली नागरिकमाथि कुटपिट भएको छ । उनीहरु रगताम्मे भएपछि नेपाल फर्केका थिए । आन्दोलनकारीले ढुंगा बषर्ाएपछि सुनौली नाका तनावपूर्ण बनेको हो । घटनापछि आज साँझसम्म कुनैपनि मालवाहक गाडीको नाकाबाट ढुवानी भएको छैन ।

भारतीय चालकलाई नेपालमा मारेको हल्ला सन्नसनी फैलिएपछि नेपाली सुरक्षाकर्मीले खोजतलाश गरेर मारिएको भनिएका पि बी ०२ ए एफ ९७८१ नम्बरको गाडी चालक हाजेन्द्र सिंहलाई मादक पदार्थ सेवनबाट लट्ठ परेको अवस्थामा सिमावर्ती नेपालको बेलहियाबाट फेला पारेर भारतीय सुरक्षा निकायालाई बुझाईएको छ ।