लुम्बिनीमा किन घटे पर्यटक ?

   

गत बैशाखको प्राकृतीक विपत्ति र देशको बर्तमान राजनैतीक अस्थिरताका कारण लुम्बिनीमा पर्यटक आगमनको संख्यामा एकाएक कमी आएको छ । लुम्बिनी विकाश कोषले निकालेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा लगभग आधा जति कमि आएको छ ।

तराईका जिल्लाहरुमा जारी विगत २ महिनादेखिको बन्दका कारण पर्यटक आगमनमा कमि आएको विकाश कोषले जनाएको छ ।

गतसालको तथ्याङ्क अनुसार सन २०१४ को सेप्टेम्बर महिनामा विश्वका २१ ओटा मूलुकबाट जम्मा ८ हजार ६१ जना पर्यटक लुम्बिनी अवलोकनका लागि आएकोमा यो वर्ष भने जम्मा ४ हजार ४ सय ६१ जना मात्र पर्यटक लुम्बिनी भ्रमण गर्न आएको देखाएको छ ।

अन्य मूलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्यामा कमी आएपनि श्रीलङ्का बाट नेपाल आउने पर्यटकको संख्या भने यो वर्ष बढेको देखाएको छ । ।

श्रीलङ्का बाट गत वर्षको सेप्टेम्बर महिनामा ४ हजार ९ सय २६ जना पर्यटक नेपाल प्रवेश गरेको र यो वर्षको सेप्टेम्बरमा ५ हजार ७६ जना पर्यटक नेपाल प्रवेश गरेका हुन । तर आन्तरीक पर्यटक र भारतबाट आउने पर्यटकको संख्यामा भने ह्वात्तै कमी आएको छ ।

गत वर्ष सेप्टेम्बर महिनामा भारतबाट लुम्बिनी आउने पर्यटकको संख्या पाँच हजार तीन सय रहेकोमा यो वर्ष भने जम्मा ७ सय १ जना रहेको छ ।

तराइमधेश आन्दोलनका कारण आन्तरिक पर्यटकहरु पनि लुम्बिनी जान सकिरहेका छैनन ।

गतवर्षको सेप्टेम्बर महिना सम्ममा १५ हजार ७ सय २३ जना नेपाली पर्यटकले लुम्बिनीको अवलोकन गरेका थिए भने यो वर्ष जम्मा २ हजार २ सय २९ जना पर्यटकले लुम्बिीनीको भ्रमण गरेको कोषको तथ्याङ्क छ ।