भैरहवा भन्सारमा भारतीय ‘तस्कर’को घुइँचो

१८ कार्तिक, भैरहवा । नेपालमा तेल बिक्रीका लागि आउने भारतीय तस्करहरुको रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा दिनहुँजसो लामो लाइन लाग्ने गरेको छ ।

भन्सारबाट निःशुल्क पाइने सुविधा पत्र लिनका लागि तेल तस्करको लाम लाग्ने गरेको हो । नेपाल प्रवेश गरी नजिकैको जानका लागि सुविधा पत्र र ढाटा जानका लागि सवारीको भन्सार गराउनु पर्ने हुन्छ । सोही अनुरुप तस्करहरुले भारतीय सवारीको ट्यांकीमा भरेर ल्याएको तेल नेपालमा बिक्री गर्नका लागि भन्सार कार्यालयबाट सुविधा पत्र लिन लाम लाग्छन् ।

भारतीय नागरिकहरु मोटरसाइकलको ट्यांकी भरेर नेपाल आउने र महंगो मूल्यमा तेल बेचेर भारत फर्किने गरेको स्थानीय बताउँछन् । मुलुकमा तेलको कृत्रिम अभाव भएपछि रुपन्देहीको साना-ठूला सबै नाकाहरुबाट तेलको तस्करी भइरहेको छ ।

 

‘पहिला त एक दिनमा २ सयदेखि २ सय ५० जना मात्र सेवाग्राहीले यस फाँटबाट सुविधा लिने गरेका थिए तर अहिले भने एकै दिनमा १ हजार ३ सय बढी सेवाग्राहीले यस फाँटबाट सुविधा लिइरहेका छन्,’ भैरहवा भन्सार कार्यालय सुविधा फाँटका इन्चार्ज शिशिर शाहले अनलाइनखबरसँग भने ।

उनका अनुसार यस फाँटबाट सुविधा लिने सेवाग्राहीमध्ये एक हजार सेवाग्राही तेलको तस्करीमा नै लागेका छन् । भारतबाट नेपालमा व्यक्तिगत कामको लागि आउने गरेपनि भारतीयहरुले भारतबाट साथमा तेल ल्याउने गरेको उनले बताए ।

 

सीमावर्ती भारतीय प्रशासनले पम्प व्यवसायीलाई ग्यालेनमा तेल नदिन उर्दी जारी गरेपछि तस्करहरुले भारतीय मोटरसाइकलको फ्युल ट्यांकीमा तेल हालेर नेपालमा ल्याएर बेच्ने गरेकाछन् ।

विगतमा सुविधा फाँटमा चाप नरहेपनि अहिले भने तेल तस्करीका कारण फाँटमा चाप बढेको सुविधा फाँटकी अर्की इन्चार्ज विमला शर्माले बताइन् ।

बेलहिया नाकाबाट भित्रिने भारतीय सवारीले सुविधा पत्र लिएर तेल तस्करी गरिरहेपनि जिल्लाको अन्य नाकाबाट भने विना सुविधा पत्र निर्वाध रुपमा भारतीय सवारीमा तेल तस्करी भइरहेको स्थानीय बताउँछन् ।