नवलपरासीमा भाइरल ज्वरोको प्रकोप

नवलपरासी-मौसम परिवर्तन हुने समयमा अत्याधिक बढ्दो गर्मीका कारण देखिएको उच्च ज्वरो अर्थात् भाइरल ज्वरोको प्रकोप नवलपरासीमा उच्च देखिएको छ । पृथ्वीचन्द्र अस्पतालका डा। नरुल होदाका अनुसार उपचारका लागि आउने बिरामीमध्ये ७० प्रतिशत भाइरल ज्वरोका छन् । जिल्ला अस्पतालमा दैनिक ६५-७० जना बिरामी आउँछन् । तीमध्य ५० जना जति ज्वरोका कारण आउने गरेको बताइन्छ । मौसम परिवर्तन, छिनछिनमै भइरहेको मौसम बदली, अत्याधिक गर्मीका कारण बिरामी बढेको डा। होदाले बताए । उनकाअनुसार नवलपरासीमा अहिले कडा ज्वरोसँगै रुघाखोकी, पिसाबमा खराबी, जिउ दुःख्ने, घांँटी समाउने, स्वर परिवर्तन हुने, उल्टी हुने, पखाला लाग्ने लगायतका समस्या एकैसाथ देखिएका छन् । केहीलाई कडा ज्वरोसंगै मलेरिया देखिए पनि यस प्रकारको ज्वरोलाई हाइग्रेड फिबर भनिने डा। होदाले बताए । नवलपरासीमा अहिले स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकीदेखि मेडिकल, निजी अस्पताल, क्लिनिक, सामुदायिक अस्पताल र जिल्ला अस्पताल सबैमा यस्ता बिरामीहरु आउने क्रम पाइएको छ । कति बिरामीहरु जिल्लाका अस्पतालमा उपचार हुन नसकेर चितवनको भरतपुर, रुपन्देहीको बुुटवल, भैरहवा, पाल्पा, काठमाडौंसम्म जाने गरेको डाक्टरहरु बताउँछन् ।