लिम्बुवानको बन्दले पूर्वी नेपाल ठप्प, ताप्लेजुङ खुल्ला

१८ भदौ, इटहरी । कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्बुवान पार्टी नेपाले पूर्वी नेपालका जिल्लाहरुमा अनिश्चितकालीन बन्द आह्वान गरेको छ । सुनसरीमा बन्दको आंशिक प्रभाव परेको छ भने ताप्लेजुङमा बन्द गरिएको छैन । यही भदौ १४ र १५ गते आयोजना गरेको बन्दको क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई बिना सर्त रिहा गर्न माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले शुक्रबारबाट पुनः पूर्वमा अनिश्चितकालीन बन्द आह्वान गरेको हो ।बन्दका कारण पूर्वी पहाडी भेगहरुमा यातायातका साधनहरु ठप्प छन् । पूर्वको इलाम, झापा, पाँचथर, धनकुटा लगायतका जिल्लाहरुमा सवारी साधनहरु सञ्चालनमा आएका छैनन् । यी जिल्लाहरुमा विहानैदेखि बजार पसल खुलेका छैनन् भने लामो तथा छोटो दुरीका सवारी साधन समेत चलेका छैनन् । उद्योग कलकारखाना समेत ठप्प छन् ।सुनसरीको इटहरीमा बन्दको आंशिक प्रभाव परेको पत्रकार तेज बनले जानकारी दिएका छन् । ताप्लेजुङमा भने बन्द आह्वान गरिएको छैन । विहानैदेखि बजार पसल खुलेका छन् । स्थानीय रुटमा चल्ने यातायातका साधनहरु पनि निर्वाधरुपमा सञ्चालन भैरहेका छन् ।विहीबार दिनभर पक्राउ परेका कार्यकर्ता रिहाइका लागि पहल भए पनि साँझसम्म पनि रिहा नभएपछि अकस्मात बन्द गर्ने निर्णय भएको थियो । समयमै बन्दको जानकारी गराउन नपाएकाले ताप्लेजुङमा बन्दको कार्यक्रम नराखिएको पार्टीका ताप्लेजुङ अध्यक्ष किर्तिमान मादेनले जानकारी दिए ।ताप्लेजुङबाट झापाको विर्तामोड, धरान लगाएतका ठाउँमा जाने लामो दुरीका सवारीसाधन भने  नचलेका पत्रकार रविन भट्टराईले जानकारी दिएका छन् ।अरुणपूर्वका ९ जिल्लालाई सीमांकन र नामांकनसहित लिम्बुवान राज्य बनाउनुपर्ने लगाएतका माग गर्दै गत १४ र १५ गते बन्दको आह्वान गर्दै हिँडेका लिम्बुवानका स्थानीय कार्यकर्ताहरु मिलन वेघा, पुजा चापागाई, भिम राई, रविन लिम्वु, बलबहादुर मगर लगायतलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको थियो । पक्राउ परेका आफ्ना कार्यकर्ताहरु विना सर्त रिहा नभएसम्म बन्द जारी रहने लिम्बुवान पार्टी नेपालले जनाएको छ ।