शनिबारबाट सुरुहुने छैटौं कोरियन भाषा परीक्षाको सबै तयारी पुरा

काठमाडौं, असोज १ – शनिबारबाट सुरुहुने छैटौं कोरियन भाषा परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । काठमाडौंका १५ र पोखराका तीन गरी १८ वटै केन्द्रमा आवश्यक तयारी सकिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लिराम वास्तोलाले जानकारी दिनुभयो ।

परीक्षा बिहान १० बजे र दिउँसो साढे दुई बजे गरी दुई सिफ्टमा सञ्चालन हुने छ । दुई दिनसम्म चल्ने परीक्षामा ५१ हजार १ सय ३७ जना परीक्षार्थी सहभागि हुँदैछन् । परीक्षा सञ्चालनका लागि ईपिएस कोरियाका भाईस प्रेसिडेन्टको नेतृत्वमा ५२ सदस्यीय टोली नेपाल आईसकेको छ । विगतका परिक्षामा नक्कली परीक्षार्थी फेला परेपछि यसपालि त्यसबाट सजग रहेको निर्देशक वास्तोलाले बताउनुभयो । 

परीक्षार्थीले आफ्नो प्रवेश पत्रसँगै नागरिकता वा राहादानी सक्कल सहित परिक्षा केन्द्रमा जानुपर्ने छ । दुई चरणमा परीक्षार्थी प्रमाणित गरेर मात्रै परीक्षामा सहभागि गराईने पनि उहाँले बताउनुभयो । भाषा परीक्षालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन शाखाले सबैसँग आग्रह पनि गरेको छ । 

काठमाडौंका लिटिल एन्जेल्स स्कुल हात्तीवन, लिटिल एन्जेल्स कलेज हात्तीवन, हिमालयन ह्वाइट हाउस कलेज तीनकुने, एनके सिंह मेमोरियल इपिएस स्कूल नयाँ वानेश्वर, भिएस निकेतन कलेज तिनकुने, भिएस निकेतन स्कुल मिनभवन, युनिभर्सल कलेज मैतिदेवी, रेडन कलेज सामाखुशी, रेडियन्ट रिडर्स एकेडेमी सानेपा, आइडिएल मोडल स्कूल धोविघाटबाट परीक्षा सञ्चालन हुनेछ ।

एलआरआई स्कुल कलंकी, ल्याब्रोटरी स्कुल कीर्तिपुर, जेभियर इन्टरनेशनल कलेज कालोपुल, ह्वाइट हाउस इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी खुमलटार र गोल्डेनगेट ईन्टरनेसनल कलेज बत्तिसपुतलीमा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । 

पोखरामा लिटिल स्टेप हाइयर सेकेण्डरी स्कुल सिमलचौर, स्टेप बाई स्टेप हाइयर सेकेण्डरी स्कुल मासबार र ग्लोबल कलिजियट हाइयर सेकेण्डरी स्कुल रानीपौवाबाट परीक्षा सञ्चालन हुनेछ ।