ढल्केवरमा प्रहरी र मोर्चाका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते

जनकपुर, मंसिर ८

– धनुषाको ढल्केबरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा रोकिएका गाडी सोमबार राति प्रहरीले स्कर्टिङ गर्न थालेपछि अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको हो ।

झडपको क्रममा प्रहरीको लाठिचार्जबाट मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका हुन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राजमार्गमा पर्ने ढल्केवरमा जम्मा भएका मोर्चाका कार्यकर्तालाई तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो ।

मोर्चाका कार्यकर्ताले केही गाडीमा ढुंगामुडा समेत गरेका छन् । अवरोधकाबिच पनि प्रहरीले सोमबार राति ढल्केवरबाट पाँच सय गाडी स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाएको छ । मोर्चाका कार्यकर्ताले ढल्केवरमा नै इन्धनको कालोबजारी गरेको भन्दै तीन वटा मोटरसाइकल जलाएका छन् ।