आउँदो वर्षको मौसमी अवस्था १७ वर्ष अघिको भन्दा भयावह हुने चेतावनी

पुस १६

– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण ओउँदो वर्षको मौसमी अवस्था १७ वर्ष यताकै भयावह हुन सक्ने चेतावनी दिएको छ । यसका कारण भोकमरी, खडेरी, बाढी तथा रोगको प्रकोप बढ्न सक्ने जनाइएको छ ।

एल निनो मौसमी चक्रका कारण विश्वका केही भागमा अति खडेरी पर्ने र केही भागमा भने बाढीपहिरोको जोखिम बढ्ने नासाले चेतावनी दिएको छ । यस्तो परिस्थिति हरेक दुईदेखि सात वर्षको अन्तरालमा आउने गर्दछ । एल निनोको  सबै भन्दा नराम्रो प्रभाव १७ वर्ष अघि सन् १९९८ मा देखिएको थियो ।

आउँदो वर्षको अवस्था सन् १९९८ को भन्दा पनि खराब हुन सक्ने जनाइएको छ ।  सबैभन्दा बढी प्रभाव अफ्रिकी क्षेत्रमा हुने र त्यहाँ आउँदो फेब्रुअरीमा चरम खाद्य संकट हुने अनुमान गरिएको छ । यही मौसमी चक्रकै कारण सन् २०१५ को विश्वको तापक्रम अहिलेसम्मकै उच्च हुन पनि सहयोग पुर्‍याएको अनुसन्धानकर्ताले बताएका छन् । भूमध्यरेखामा पर्ने प्रशान्त महासागरसँग सम्बन्धित मौसमी चक्र अन्तर्गत तातो हुने अवधिलाई एल निनो र चिसो हुने अवधिलाई ला निना भनिन्छ । सन् १९९८ को एल निनोका कारण विश्वका धेरै देशमा भीषण बाढी तथा केही देशमा शुख्खा भएको थियो । 

उपग्रहबाट प्राप्त तस्बिरका अनुसार सन् १९९८ को भन्दा पनि खराब अवस्था आउँदो वर्ष हुने देखिएको नासाले जनाएको छ । 

– एजेन्सीको सहयोगमा