२० मिनेटमै रोनाल्डोको ह्याट्रिक, रियल मड्रिड ६–० ले विजयी

भदौ २७ 

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले स्पानियोललाई ६–० ले हराएको हो । रियलको जितमा क्रिष्टियानो रोनाल्डो नायक बने । उनी एक्लैले पाँच गोल गरे भने अर्को एक गोल करिम बेन्जिमाले गरे । खेलको सुरुवातको सातौं मिनेटमानै गोल गर्दै रानोल्डोले रियललाई सुरुवाती अग्रता दिलाए । त्यसको १० मिनेटपछि पेनल्टीको अवसर सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरे । २० औं मिनेटमा ह्याट्रिक पुरा गरेका रोनाल्डोले रियललाई ३–० को अग्रता दिलाए । २८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता ४–० को अवस्थामा पु¥याए । रियल हाबी भएको खेलमा रोनाल्डोले ६१ औं मिनेटमा व्यक्तिगत चौंथो गोल गर्दै लिएलको अग्रता ५–० बनाए । ८१ औं मिनेटमा व्यक्तिगत पाँचौं गोल गरेका रोनाल्डोले रियललाई ६–० को जित दिलाए । जितपछि रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । रियलको तीन खेलबाट सात अंक भएको छ । स्पानियोल भने समान तीन खेलबाट तीन अंकसहित तालिकाको दशौं स्थानमा छ । शनिबार राति नै भएका अरु खेलमा भ्यालेन्सियाले स्पोर्टिङ डि गिजोन र रियल बेटिसले रियल सोसिडाडलाई समान १–० ले हराएका छन् ।

रोनाल्डो चौंथो नम्बरमा उक्लिए

 

स्पानियोल विरुद्धको खेलमा पाँच गोल गरेका रोनाल्डो ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा चौंथो नम्बरमा उक्लिएका छन् । राउललाई पछि पार्दै रोनाल्डो चौथो नम्बरमा उक्लिएका हुन् । रोनाल्डोले अहिलेसम्म ला लिगाका २ सय चार खेलबाट दुई सय ३० गोल गरेका छन् । पाँचौं नम्बरमा रहेका राउलले भने पाँच सय ५० खेलबाट दुई सय २८ गोल गरेका थिए । ला लिगाको सर्वाधिक गोलकर्ता लियोनल मेस्सीले अहिलेसम्म दुई सय ८७ गोल गरेका छन् ।