१९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा नेपाल र अमेरिकाको खेल चल्दै

काठमाडौं, असोज २८ – उन्नाइ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको तेस्रो खेलमा नेपालले अमेरिका खेली रहेको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि अहिले अमेरिकाले ब्याटिङ गरिरहेको छ ।

नेपाल राजु रिजालको कप्तानीमा मैदान उत्रिएको छ भने अमेरिका एलेक्स शोफको कप्तानीमा खेलिरहेको छ । यसअघिका दुई खेलमा जित निकालेको नेपाल अमेरिकालाई पनि हराउँदै आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकपका लागि छनौट हुने सम्भावना जिवित राख्न चाहन्छ ।

नेपलाले पहिलो खेलमा पपुवा न्यु गिनीलाई ९ विकेट तथा दोस्रो खेलमा युगान्डालाई १ सय ७१ रनले हराएको थियो । दुई खेलबाट चार अंक जोडेको नेपाल अहिले शीर्ष स्थानमा छ । समान ४ अंक जोडेको आयरल्याण्ड दोस्रो स्थानमा छ ।

यसअघिका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको अमेरिका दुई खेलबाट दुई अंक सहित चौंथो स्थानमा छ । अमेरिकाले पहिलो खेलमा युगान्डालाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा आयरल्याण्डसँग ८ विकेटले हारेको थियो । नेपालले अमेरिकालाई हराउन सके छनौटको सम्भावना बलियो बनाउनेछ ।

नेपालसहित आयोजक मलेसिया, युगान्डा, अमेरिका र आयरल्याण्ड सहभागी छनौट प्रतियोगिताको विजेता विश्वकपका लागि छनौट हुनेछ । १९ वर्षमुनिको विश्वकपमा आइसिसीका १० पूर्ण सदस्य राष्ट्र अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र जिम्बाबे सहभागी हुनेछन् । यस्तै प्रतियोगितामा सहभागिताका लागि अफगानिस्तान, नामिबिया, क्यानडा, फिजी र स्कटल्याण्डले स्थान पक्का गरी सकेका छन् ।

छनौट प्रतियोगिता यसअघि नेपालमा हुने तय भएको थियो । तर वैशाख १२ मा गएको भूकम्पले गर्दा भौतिक संरचनामा क्षति पुगेको भन्दै अन्तर्राष्ट्रि क्रिकेट परिषदले प्रतियोगिताको स्थान परिवर्तन गरेर मलेसियामा गर्ने निर्णय गरेको थियो ।