फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरुलाई अदालतमा उपस्थित गराइँदै

१५ कात्तिक, काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरुलाई आज विशेष अदालत, काठमाडौंमा उपस्थित गराइँदैछ ।

म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विशेष अदालतले पक्राउ परेको मितिले १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले दिएको म्याद शुक्रबार नै सकिएको छ । शनिबार अदालत विदा भएकाले आज आइतबार उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ ।

अन्तराष्ट्रिय खेलहरुमा करोडौं पैसा लिएर म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले असोज २७ गते राष्ट्रिय टीमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा र विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो ।