फिल्म बनाउन छाति फराकिलो नपार्ने हो भने फिल्मको गुणस्तर साँघुरै रहिरहन्छ

 

 

 

 

 

 

 

निर्माताका कुरा पत्याउने हो भने ‘चंखे शंखे पंखे’ नेपालकै महँगो फिल्म हो । निर्माता सन्तोष सेनको दाबी छ रिलिज हुने दिनसम्म फिल्मको बजेट एक करोड ७५ लाख पुग्छ । जेठ १ मा रिलिज तय भएको फिल्मलाई भूकम्पले हुत्याएर असोज ८ मा पुर्‍याइदिएको हो । रिलिजको पूर्वसन्ध्यामा भेटिएका निर्माता सन्तोष सेन, अभिनेत्री पुजा शर्मा र निर्देशक सुदर्शन थापाले फिल्म बारे बोले । निर्माता सेनको भनाई छ, भूकम्पपछि घाटा लाग्यो । पहिलेकै हाइपमा लेराउन झण्डै १५ लाख खर्च भएको उनको दाबी छ । फिल्म चल्नेमा ढुक्क देखिएका सेन खर्च भएकोमा दुखेसो छैन् । ‘बिग बजेट’ को सन्दर्भमा सेनले भने, ‘लगानीमा सम्झौता गर्दा बजार कसरी विस्तार हुन्छ? फिल्म बनाउन छाति फराकिलो नपार्ने हो भने फिल्मको गुणस्तर पनि साँघुरै रहिरहन्छ। फिल्म बनाउने मेरो सानैदेखिको सोख हो । त्यसैले मैले फिल्म बनाउँदा दर्शकले वाह ! भन्नैपर्छ । सानो बजेटमा बनाएर लगानी मात्र उठाउने पाराले चल्दैन भनेर लगानी गर्न लोभ गरेको छैन् ।’ होटल, यातायातका क्षेत्रबाट आएको मुनाफा फिल्ममा लगाएको बताउने सेनले फिल्ममा हालेको एक करोड ७५ लाख झुठो नभएको भन्दै पर्दामा बजेट खुलस्त हुने दाबी पनि गरे ।के मा खर्च भयो त यत्रो पैसा ? ‘कलाकार, प्राविधिक र सेटमा ।’ सेनले दाबी गरे, ‘सेटमा भव्यता आवश्यक थियो, त्यसमा सम्झौता भएको छैन । यहाँ नयाँ कलाकारलाई सित्तैमा काम लगाउँछन्। मैले दिल खुसी पार्ने पारिश्रमिक दिएर काम गराएका छु ।’ उनी शुक्रबार र शनिबार राम्रोसँग फिल्म चलिदिए फिल्मले नै दर्शक बोलाउने दाबी गर्छन्। लगानी उठछ त भन्ने प्रश्नमा जवाफ दिए 'उठछ। देश र ओभरजसिजले फिल्मको लगानी रिकभर हुन्छ। नभएपनि राम्रो फिल्म बनाएको सन्तुष्टी मनमा रहन्छ।'फिल्मकी अभिनेत्री पुजा शर्मालाई पनि फिल्म राम्रै चल्छ भन्ने आश छ । टेलिभिजनमा समाचार वाचनको काम गर्दै करियर सुरु गरेकी उनले फिल्ममा पनि पत्रकारको भूमिका निभाएकी छिन् । मधुमास हुँदै यस फिल्मसम्म आइपुग्दा आफू खारिएको उनको ठहर छ । हालसम्मकै तीनवटै फिल्ममा सुदर्शन थापासँग जोडिएकी उनी चौथो फिल्ममा पनि सुदर्शनकै निर्देशनमा अभिनय गर्दैछिन् । बाहिरका ब्यानरमा काम नगर्ने ? भन्ने प्रश्नमा उनले भनिन्,‘मलाई सहज हुनु पर्‍यो ।’ उनी यसलाई ‘क्वालिटी’ सँग जोडिछन्, जुन कुरा 'चंखे शंखे पंखे'सँग पनि जोडिन्। उनले भनिन्, फिल्म खेलेर संख्यामात्र थप्नु छैन् । अहिलेसम्म छि भन्ने फिल्म गरेको पनि छैन र गर्दिन पनि । बरु घरमै बस्छु ।’ यसअघिका फिल्म नचल्नुमा आफ्नो दोष नभएको उनको ठहर छ । ‘'मधुमास होस्' या 'अझै पनि' हेर्नेले राम्रै भनेका छन् तर चलेन। यसमा के गर्न सकिन्छ’ फिल्ममा प्रेम पुरी र सुदर्शन थापाले सबैभन्दा राम्रो काम गरेको भन्न उनले छुटाइनन् ।फिल्मका निर्देशक एवम् मुख्य कलाकार सुदर्शन थापा 'चंखे शंखे पंखे'लाई दर्शकले साथ हुने विश्वास राख्छन् । आधुनिक युवाले देशप्रति सोच्नुपर्ने नयाँखाले देशभक्ति फिल्ममा रहेको उनको भनाई छ ।  उनले फिल्ममा ‘मोडर्न देशभक्ति’ को कथा भएको बताए । उनका अनुसार कथा भन्ने शैली र प्राविधिक पक्षमा मेहनत गरेकाले फिल्म राम्रो बनेको छ । राजनीतिक वितृष्णाको कथामा मनोरञ्जनसँगै भ्रष्टाचार र सञ्चार क्षेत्रमा भएको विकृतिलाई पनि फिल्ममा पस्केकाले फिल्मबाट दर्शकले मजा लिने उनको दाबी छ । सार्वजनिक रिलिजको पूर्वसन्ध्यामा प्रमुख दलका शिर्ष नेतालाई फिल्म देखाएर प्रिमियर गराउन लागेका सुदर्शनले भने,‘एउटा सामान्य मान्छेदेखि उच्च निकायमा बस्नेसम्मलाई राष्ट्रिय भावना हुनुपर्छ । फिल्ममा त्यस्तै विषयको भएकाले सबैले हेर्नुपर्छ भन्ने मान्यताले नेतालाई फिल्म देखाउन लागेका हौं।’त्यस्तै राम्रो फिल्म बनाउन जति परेपनि खर्च गर्न तयार रहेको बताउने सेनले 'चंखे शंखे पंखे'मा सुदर्शनले आफूले सोचेभन्दा धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । ‘निर्देशकले निर्माता खोज्नु र निर्माताले निर्देशक खोज्नु फरक कुरा हो । मैले निर्देशक खोजेको हूँ । काम राम्रो लाग्यो त्यसैले दोस्रो फिल्ममा पनि सुदर्शनलाई नै लिएको हूँ ।’ उनले भने । सेनले सुदर्शनबाट आफूले खोजेभन्दा बढी पाएको बताएपनि फिल्म विवादमा परेको छ । फिल्मको गीत चोरिएको आरोपमा निर्माता सेनले भने,‘फिल्मको पब्लिसिटीका लागि रिफ्रेन्सका लागि एउटा क्लब सङ बनाउन सो गीत दिएको तर संगीतकार र एरेन्जरले हुबहु बनाइदिनु भएछ।’ लगातार सुदर्शनसँग नै टिमअप गरिरहेका सेनले राम्रो सोच स्क्रिप्ट लिएर आए जोकोहीसँग पनि काम गर्न तयार रहेको बताए। उनले निश्चल बस्नेत, रामबाबु गुरुङ, हेमराज बिसी आदि पछील्लो समय आफूलाई मनपरेका निर्देशकहरू भएको खुलाए र कुरा मिले काम गर्ने इच्छा रहेको व्यक्त गरे। नयाँ अवधारणा बोकेर आए लगानीमा सम्झौता नगर्ने पनि उनले दोहोर्‍याए । उनी बोले,‘केही परिवर्तनका लागि केही ‘कुर्बान’ त गर्नै पर्‍यो नि होइन र ?’