इन्धन सम्झौता गर्न नेपाली टोली भोलि मात्र चीन जाने

nepal china
४ मंसिर, काठमाडौं । इन्धनको ब्यापारिक सम्झौता गर्न नेपाली टोली भोलि शनिबार मात्रै चीन जाने भएको छ ।

चीनमा शनिबार र आइतबार सार्वजनिक विदा परेकाले शुक्रबार नै जाने कार्यक्रम स्थगित गरिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

शुक्रबार नै गएर छलफल अघि नबढ्ने भएकाले भोलि जाने तय गरिएको हो । टोलिले सोमबारदेखि चाइना नेशनल पेट्रोलियम कर्पोरशन (पेट्रो चाइना) सँग खरिद समझौताबारे छलफल थाल्नेछ । टोलीमा परराष्ट्र, कानुन, अर्थ, गुणस्तर विभागका प्रतिनिधि सहभागि हुनेछन् ।टोलिको नेतृत्व बाणिज्य मन्त्रालयका सह-सचिव शम्भुप्रसाद घिमिरेले गर्नेछन् । टोलीमा आयल निगमका तर्फबाट निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराई र निमित्त निर्देशक दीपक बराल पनि सहभागी हुनेछन् ।टोलीले पेट्रो चाइनासँग इन्धन आयातको व्यापारिक सम्झौता गर्नेछ । भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालले चीनसँग ब्यवयायिक इन्धन आपूर्तिका लागि समझदारी गरिसकेको छ ।