आगलागी हुँदा एक घर जलेर नष्ट

मंसिर ९-रामेछापको उत्तरी क्षेत्रमा पर्ने दुरागाउँ-७ मा डोरप्रसाद पौडेलेको घरमा आगलागी हुँदा ३ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । 

वैशाखमा गएको विनासकारी भूकम्पले घर भत्किएर बारीको पाटामा अस्थायी रुपमा खरको छानो लगाएर बनाएको अस्थायी घरमा बुधबार बिहान आगलागी हुँदा ३ लाख भन्दा बढि रुपैयाँको धनमाल जलेर नष्ट भएको छ । 

आगलागीबाट पौडेलको कटेरामा राखेको ५० हजार रुपैयाँ नगद, २ तोला सुन, भर्खरै बिटा लगाएर राखेको धान समेत जलेर नष्ट भएको छ । 

    

अस्थायी रुपमा बसोबास गर्दै आएको कटेरामा अकस्मात आगलागी भएको देखेपछि स्थानीय बासिन्दा जम्मा भएर आगो निभाएका थिए । तर आगो नियन्त्रणमा आउँदा भएका सबै सामान नष्ट भइसकेको दुरागाउँका रामकुमार पौडेलले जानकारी दिनुभयो ।